हेटौंडा । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचौ पटकको प्रयासमा पनि असफल भएकी छिन् । २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा पाँचौपटक होमिएकी ‘डिना’ रास्वपाका उम्मेद्वार प्रकाश गौतमसँग भारी मतान्तरले पराजित हुन पुगिन् ।
रास्वपाका गौतमले ३६ हजार ३३ मत ल्याउँदा एर विजय भएका हुन् । डिनाले १४ हजार ३८ मत ल्याइन् । प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत पाए ।
पटक पटक हार व्यहोरेकी डिना यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन् । उपाध्याय यसअघि २०४८, २०५१, २०७४ र २०७९ मा मकवानपुरबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन् ।
विगत ४० वर्षदेखि नेपाली राजनीतिमा निरन्तर सक्रिय रहेकी महालक्ष्मी उपाध्याय ‘डीना’लेवि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिइन् । २०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट महिलातर्फको सहमहामन्त्रीमा निर्वाचित उपाध्याय कांग्रेसका तर्फबाट २०४८ सालदेखि प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएपनि सफल भने हुन सकिनन् ।
प्रत्यक्षतर्फ पटक पटक पराजिक भएकी उनी २०६४ र २०७० को संविधानसभामा भने समानुपातिक सभासद् थिइन् । उनी पूर्व जलस्रोत राज्यमन्त्री समेत भएकी थिईन् ।








