हेटौंडा । नेकपा ९एमाले० मकवानपुरको कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला उपाध्यक्ष हिदम लामालाई दिइएको छ । आइतबार बसेको जिल्ला सचिवालय बैठकले उपाध्यक्ष लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको सचिव सिता विष्टले जानकारी दिइन् ।
यसअघि ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रीधर पोखरेल पार्टीको नियमित काम र सम्पर्कमा समेत नरहेको उल्लेख गर्दै सचिव विष्टले सचिवालय बैठकले पोखरेललाई पदमुक्त गरेको बताइन् । “नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष क। श्रीधर पोखरेल विगत ५ महिनादेखि पार्टीको नियमित काम र सम्पर्कमा समेत नरहेको सन्दर्भमा सामाजिक सञ्जालमा सार्वजनिक भएको ‘जिम्मेवारीबाट राजीनामा दिएको’ भन्ने अभिव्यक्तिप्रति नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।”
सचिव विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पार्टीको नियमित काम र गतिविधिमा सम्पर्क र सहभागिता नजनाई, पार्टीलाई कुनै जानकारी नगरी मौन बसेका अध्यक्ष पोखरेलले निर्वाचन परिणामको विषयलाई लक्षित गरी आफ्नो फेसबुक पेजमार्फत राजीनामा दिइएको अभिव्यक्ति सार्वजनिक गरेको विषयलाई पार्टीले गम्भीरताका साथ लिएको छ ।
यसै विषयमा छलफल गर्न मिति २०८२ फागुन २४ गते बसेको जिल्ला सचिवालयको बैठकले यसबाट पार्टी पंक्ति र सार्वजनिक रूपमा परेको भ्रमको पूर्णरूपमा खण्डन गर्दै क। श्रीधर पोखरेललाई पदबाट मुक्त गरेको साथै उपाध्यक्ष क। हिदम लामालाई कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी दिएको यसै विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।”
साथै, एमाले मकवानपुरले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको र निर्वाचनको क्रममा एमालेको तर्फबाट सूर्य ध्वजावाहक उम्मेदवारको पक्षमा मत माग्न र चुनावको हरेक व्यवस्थापनमा लागिपर्ने सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी सदस्यहरू, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
“हाम्रो पार्टीप्रति विश्वास व्यक्त गरी मतदान गर्नुहुने आम मकवानपुरे मतदाता आमाबुवा, दाजुभाई र दिदीबहिनीहरू, निर्वाचन सम्पन्न गर्न लाग्नुहुने निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकायप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै निर्वाचनबाट प्राप्त जनमतलाई कदर गर्ने, देश र जनताको पक्षमा, संविधान र लोकतन्त्रको रक्षा, विकास, समृद्धि र सुशासनमा दृढता पूर्वक लागि रहने समेत प्रतिवद्धता व्यक्त गर्दछौँ ।” सचिव विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।








