हेटौंडा । मकवानपुरको २ निर्वाचन क्षेत्रमा १ लाख ८६ हजार ९ सय ५९ मत खस्दा १० हजार ६ सय १५ मत बदर भएको छ । सबैभन्दा धेरै एकै मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाएका कारण मत बदर भएको मुख्य निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रत्यक्षतर्फ संख्या र प्रतिशतका हिसाबले मकवानपुर–२ मा धेरै मत बदर भएको छ । मकवानपुर–२ मा ५ हजार ४ सय ९७ मत बदर भएको छ । १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेको मकवानपुर–२ मा ५८ दशमलब ७ प्रतिशत अर्थात ९१ हजार १ सय १६ मत खसेको थियो । खसेकोमध्ये ६ दशमलव ३ प्रतिशत मत बदर भएको छ ।
मकवानपुर–१ मा ९५ हजार ८ सय ४३ मत खस्दा ५ हजार १ सय १८ मत अर्थात ५ दशमलब ३३ प्रतिशत बदर भएको छ । यस क्षेत्रमा १ लाख ५८ हजार ४ सय ३५ मतदाता छन् । खसेकोमध्ये ५ दशमलब ३३ प्रतिशत बदर भएको वागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए । उक्त क्षेत्रमा ९० हजार ७ सय २५ मत सदर भएको थियो ।
प्रत्यक्षतर्फ २०७९ को निर्वाचनमा भन्दा यसपटक धेरै मत बदर भएको छ । अघिल्लो निर्वाचनमा मकवानपुर–१ मा ४ दशमलब ४६ प्रतिशत मत बदर भएको थियो भने मकवानपुर–२ मा ४ दशमलब ७६ प्रतिशत बदर भएको थियो । यसपटक मत धेरै नै बदर भएको निर्वाचन कार्यालय हेटौंडाका प्रमुख ढकालले बताए ।
प्रत्यक्षतर्फ मकवानपुर–१ मा २१ जना र मकवानपुर–२ मा २३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ३५ जनाको धरौटी जफत भएको छ । खसेको मतको १० प्रतिशत मत नल्याए धरौटी रकम जफत हुने व्यवस्था छ । यहाँका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।
समानुपातिकतर्फ पनि मकवानपुर–१ मा ३ हजार ८ सय ८७ मत अर्थात ३ दशमलब ५१ प्रतिशत मत बदर भएको छ । खसेको मतमध्ये ९३ हजार ७१ सदर भएको थियो । ३ हजार ३ सय ८७ मत बदर भएको छ । बदर मतमध्ये मकवानपुर–१ मा सबैभन्दा धेरै मतपत्रमा ल्याप्चे लगाइएको छ । मकवानपुर–२ मा ४ हजार ७० मत बदर भएको छ ।
खसेको मतमध्ये ४ हजार ७० अर्थात ४ दशमलब ४३ प्रतिशत मत बदर भएको छ । मकवानपुर दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ ७ हजार ४ सय ४७ मत अर्थात ३ दशमलब ९६ प्रतिशत बदर भएको छ । प्रत्यक्षको तुलना समानुपातिकतर्फ मत बदर कम रहेको छ ।
०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ यसपटक भन्दा बढी मत बदर भएको थियो । त्यति बेला मकवानपुर–१ मा ६ दशमलब ९३ प्रतिशत मत बदर भएको थियो भने मकवानपुर–२ तर्फ ४ दशमलब ८५ प्रतिशत मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ मतदाता बढी हुने गर्छन् । अस्थायी मतदान केन्द्रका कर्मचारी, प्रहरी, सैनिकलगायतले समानुपातिकतर्फ मात्र मतदान गर्छन् ।









