हेटौंडा । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
विजय गौतम (नेपाल कम्युनिष्ट पार्टी) नेकपा
मकवानपुर(१ मा नेपाली कम्युनिस्ट पार्टी नेकपा को तर्फबाट विजय गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । काभ्रेमा जन्मिएका मकवानपुरको बकैया गाउँपालिका स्थायी घर भएका ४० वर्षीय गौतम विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा आएका हुन् ।
विद्यार्थी राजनीतिमा आफूलाई प्रमाणित गर्दै छोटो समयमै पार्टी जिम्मेवारी पाउँदै मूलधारको राजनीतिमा स्थापित भएका हुन् उनी ।
उनको राजनीतिक यात्रा आन्दोलनको पृष्ठभूमिबाट अघि बढ्दै तत्कालीन नेकपा माओवादी पार्टीको केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्जको भूमिकामा पुगेका उनी जिल्लामा पार्टी संगठन सुदृढीकरण र राजनीतिक व्यवस्थापनमा सक्रिय रहेका छन् ।
युवा उमेरमै केन्द्रीय जिम्मेवारी पाएका गौतम पार्टी संगठन, कार्यकर्ता समन्वय र स्थानीय मुद्दामा सक्रिय भूमिकाका कारण मकवानपुरमा परिचित छन् । विशेषतस् सुशासनको पक्षमा उनले आवाज उठाउँदै आएका छन् ।
गौतमले नीति निर्माण र प्रशासनिक कामको प्रत्यक्ष अनुभव पनि हासिल गरेका छन् । नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा उनको सचिवालयमा रहेर काम गरेको अनुभवले उनलाई राज्य सञ्चालन, सुरक्षा संयन्त्र र प्रशासनिक प्रक्रियाबारे व्यावहारिक ज्ञान दिएको छ । यही अनुभवलाई संसदीय अभ्यास र नीति निर्माणमा उपयोग गर्ने बताउँदै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका गौतम युवामैत्री राजनीति र परिवर्तनमुखी एजेन्डा उठाएका छन् । विकास र सुशासनलाई आफ्नो मूल राजनीतिक एजेन्डा बनाएका छन् ।
“म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन’ गौतम भन्छन् ‘जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु ।’
‘हाम्रो पुस्ता त जसोतसो गुज्रियो, तर हाम्रो अर्को पुस्ता पासपोर्ट च्यापेर विदेश जान बाध्य नहोस् भन्ने मेरो लडाइँ हो’ उनले भने।
व्यवस्था बद्लियो, अब हाम्रो आँगन, हाम्रो बस्ती, हाम्रो जीवन बदलिनुपर्ने उनले बताए । मकवानपुर क्षेत्र नम्बर १ मा गौतमसहित स्वतन्त्र १० तथा दलका १३ जना निर्वाचनमा उम्मेदवार छन् ।








