हेटौंडा । मकवानपुरको मतगणना शुक्रवार बिहानबाट मात्र सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार भोलि विहान ७ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको र उक्त बैठक पश्चात सर्वसहमतिमा गणना प्रकृया अगाडि बढाईनेछ ।
प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा १ लाख ८६ हजार ५५१ मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि ढकालका अनुसार मकवानपुरमा पुरुष ९६ हजार ६३४ महिला ८९ हजार ९१२ र अन्य ५ गरी १ लाख ८६ हजार ५५१ मत खसेको हो ।
५९.१६ प्रतिशत मतदान भएको र शान्त वातावरणमा मतदान भएको ढकालको भनाई छ । मकवानपुरमा मतदाता तीन लाख १५ हजार ३३४ रहेका थिए ।
निर्वाचन क्षेत्र नम्बर– १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ तथा क्षेत्र नम्बर–२ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता रहेका थिए । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ वटा मतदानस्थल रहेको थियो भने ३७४ वटा मतदान केन्द्र रहेको थियो ।
मकवानपुर क्षेत्र नम्वर– १ मा १६ दलीय र ५ जना स्वतन्त्रगरी २१ जना उम्मेद्वार थिए भने क्षेत्र नम्वर २ मा १३ दलीय र १० स्वतन्त्रगरी २३ जनाले उम्मेद्वारी दिएका थिए । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रका निर्वाचनको मतगणना हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ । मतगणनाका लागि चार वटा कोठा तयार पारिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् जानकारी दिईन् ।
मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए ।
मतगणनास्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उनले जानकारी दिए । दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा एकैपटक चार ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ । सञ्चारकर्मीहरूका लागि भुटनदेवी स्कुलमै मिडिया सेन्टर पनि राखिएको छ ।








